Monday, July 31, 2017

स्तनपानको महत्व : स्तनपान : दिगो विकासको प्रमुख आधार (विश्व स्तनपान सप्ताह 2073)
शिशु जन्मेको १ घण्टा भित्र स्तनपान गराउने संख्या वढाउन, जन्मे देखि ६ महिनासम्म स्तनपान गराउने संख्या वढाउन, ६ महिना पुगेपछी स्तनपानको साथै पुरक खाना खुवाउने वारेमा सचेतना फैलाउन स्तनपानको महत्व तथा वच्चालाई स्तनपान नगराउदा हुने समस्याहरुलाई स्थानिय जनसमुदाय स्तरसम्म पुर्याई सचेत गराउने उदेश्य सहित विश्व स्वास्थ्य संगठन र युनिसेफको संयुक्त पहलमा सन् १९९२ देखि हरेक वर्षको अगस्ट महिनाको पहिलो साता विश्व स्तनपान सप्ताह मनाइदै आएको छ ।
स्तनपानको महत्वलाई विकासका विभिन्न्न पक्षहरु संग जोडेर यसको महत्वलाई विश्वव्यापी रुपमा फैलाउने क्रममा यस वर्ष दिगो विकासका लागि स्तनपानको भूमिकालाई दर्शाउन खोजिएको छ । सन २०३० सम्म विश्वलाई विकासित वनाउने दिगो विकास लक्ष्य अनुरुप स्तनपानलाई पनि हरेक लक्ष्य संग जोडेर ति लक्ष्यहरु पुरा गर्नको लागि स्तनपानको पनि ठुलो भूमिका हुन्छ भने कुरालाई स्थान दिएको छ । यस वर्ष स्तनपान : दिगो विकासको प्रमुख आधार भन्ने नारा सहित विश्वभर विविध कार्यक्रमहरु गरी मनाईदै छ ।

यसै क्रममा नेपालमा पनि अग्स्ट महिनाको पहिलो हप्ता अर्थात श्रावण १७ देखी २३ गते सम्म सरकारी, गैर सरकारी तथा अन्य सरोकारवाला निकायहरुको आयोजनामा विभिन्न्न कार्यकर्महरु गरी स्तानपान सप्ताह मनाईदै छ । बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु उसको नैसर्गिक अधिकार पनि हो । शिशु शारिरिक तथा मानसिक विकासको लागि चाहिने सम्पूर्ण तत्वहरु पाइने हुँदा स्तनपानलाई पहिलो खोपको रुपमा पनि लिइन्छ । शिशु जन्मेको जति सक्दो छिनो वा १ घण्टा भित्रैमा स्तनपान गराईसक्नुपर्ने हुन्छ । हाम्रो नेपालको अवस्था हेर्ने हो भने नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०११ को अनुसार शिशु जन्मेको १ घण्टा भित्र स्तनपान गराउने संख्या ४५ प्रतिशत मात्र छ । त्यसै गरी शिशु जन्मेको १ दिन भित्र स्तनपान गराउने संख्या भने ८५ प्रतिशत रहेको छ । हामीले शिशु जन्मेको १ घण्टा भित्रै स्तनपान गराउने कुरालाई वढी महत्व दिएर जनचेतना फैलाउनु पर्ने देखिन्छ । वाक्लो,पहेँलो विगौती दुधमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक तत्वहरुले शिशुलाई हानी गर्न सक्ने जिवाणु तथा किटाणुहरुलाई मार्ने र शिशुलाई रोगवाट वचाउन सक्ने क्षमता हुन्छ ।

अनुसन्धानहरुको तथ्यान्क हेर्ने हो भने आमाको दुध खान पाएमा झाडापखाला, स्वासप्रस्वास र अन्य रोगहरु लाग्न्नवाट वच्न्न र शिशु मर्ने दरमा २५ प्रतिशतले कमी आएको पाइएको छ । स्तनपानको यथार्थ फाईदाहरु औल्याउन नसकेता पनि हाम्रो परम्परा अनुसार स्तनपानलाई प्राकृतिक खाना कै रुपमा खुवाउने प्रचलन हाम्रो नेपाली समुदायमा रहीआएको छ । यदपी आमाको दुध पर्याप्त मात्रामा नआएको भन्दै शहरी क्षेत्रमा भने आमाको दुध भन्दा अन्य कुराहरुको वढ्दो प्रयोग रहेको देखिन्छ । वच्चालाई जती धेरै दुध खुवायो त्यत्तिकै धेरै मात्रामा दुध आँउदछ । दुवै स्तनवाट दिन र रात गरेर कम्तीमा पनि दश पटक आमाको दुध खुवाउनु पर्दछ । एउटा स्तनवाट कम्तीमा पनि १५ मिनेट दुध खुवाउनुपर्छ । जन्मे देखि ६ महिना सम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा प्रयाप्त मात्रामा पानीको मात्रा पनि हुने हुँदा थप पानी छुट्टै खुवाउन जरुरि पर्दैन । शिशु जन्मेपछि ६ महिनाको उमेर सम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु आमाको दुधमा नै पर्याप्त मात्रामा पाइने हुँदा जन्मेको ६ महिनासम्म निरन्तर आमाको दुध मात्र खुवाए पुग्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार ६ महिनासम्म आमाको दुध बाहेक अन्य खानेकुराहरु बच्चालाई खुवाउनु हुँदैन । नेपालमा ६ महिना भन्दा कम उमेरका बच्चाहरुले आमाको दुधमात्र लिएका ७० प्रतिशत रहेको छ । जस अनुसार ३० प्रतिशत बच्चाहरु अझै पनि ६ महिनाको उमेर सम्म दुध बाहेक अरु खानेकुराहरु पनि खाईरहेका छन् । शिशु जन्मेपछी सुरुमा आउने आमाको दुधमा धेरै किसिमका पौष्टिक आहारहरु पाइने हुँदा विगौती दुध नवशिशुलाई अनिवार्य रुपमा खुवाउन जरुरी छ । शिशु जन्मेको एक घण्टा भित्रै शिशुलाई विगौती दुध खुवाउनु पर्छ। हाम्रै समाजमा कतिपय ठाँउहरुमा शिशु जन्मने वित्तिकै आमाको दुध खुवाउनुको सट्टामा मह, चिनि, घिउ आदी जस्ता खानेकुराहरु खुवाउने चलन रहेको छ । यस्ता किसिमका खानेकुराहरु खुवाउनु शिशुको स्वास्थ्यको लागि राम्रो होइन । शिशुको शारीरिक तथा बौद्धिक विकासको लागि ६ महिनापछी भने थप ठोस आहार पनि आवश्यक पर्ने हुँदा खुवाउनुपर्ने हुन्छ। शिशु ६ महिना पुगिसकेपछि २ वर्षसम्म निरन्तर अरु आहाराहरुको साथमा आमाको दुध पनि खुवाउनु जरुरी छ । ६–२३ महिनाको बच्चाहरु मध्ये करिब १ चौथाई बच्चाहरु मात्र आमाको दुध खान पाईराखेका छन् । यसले गर्दा बच्चाको शारीरिक तथा मानसिक विकास बौद्धिक विकास भई बच्चालाई कुपोषण तथा अन्य समस्याहरु हुनबाट जोगाउन सकिन्छ । तथ्याङ्क हेर्ने हो भने राम्रो स्तनपान गराउँदा करिब १३% बालशिशु मृत्युदर घटाउन सकिन्छ । यसै गरि राम्रो पौष्टिक खानेकुराहरु बाट करिब ६% नवशिशु मृत्युदर घटाउन सकिन्छ । नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०११ को प्रतिवेदन अनुसार करिव ९९ प्रतिशत महिलाहरुले आफ्ना वच्चाहरुलाई स्तनपान गराईरहेको देखिन्छ। त्यसैगरी आमाको दुध बच्चामा खुवाउँदा आमालाई हुने रक्तश्राव कम हुने, स्तनको क्यान्सर कम हुने, पाठेघरको क्यान्सर कम हुने देखिन्छ, साथै महिला हरुमा जन्मान्तर कायम राख्न्न स्तनपानले सहयोग पुर्याउदछ । सन २०३० सम्ममा विश्वलाई विकसित वनाउनको लागि विभिन्न रास्ट्रले प्रतिवद्द्ता जनाए अनुरुप दिगो विकास लक्ष्यमा विभिन्न १७ वटा लक्ष्यहरु रहेका छन । ति लक्ष्यहरु पुरा गर्नको लागि प्रतक्ष अप्रतक्ष रुपमा स्तनपानको भूमिका रहेको छ ।गरिबी, भोकमारी अन्त्य गर्ने, सबैमा स्वास्थ्य जीवनको सुनिश्चिता गर्ने, सबैका लागि समावेशी र गुणस्तरीय शिक्षा गर्ने, लैंगिक समानाता हासिल गर्ने, खानेपानी र सरसफाईको सबैमा पहुँच पुर्याउने, बलियो पूर्वाधार, दिगो औद्योगिकीकरण, मुलुकभित्र र अन्य देशसँगको अससमान्ता हटाउने, मानवबस्तीलाई सुरक्षित र दिगो बनाउने, जलवायु परिवर्तन र यसका प्रभावबारे लड्न कार्ययोजना तय गर्ने र दिगो पर्यावरणीय प्रणाली आदी जस्ता लक्ष्यहरुलाई रहेका छन । यि सम्पुर्ण लक्ष्यहरु प्राप्ती गर्नको लागी सुश्म स्तरवाट स्तनपानले ठुलो भूमिका निर्वाह गर्दछ। त्यसैले स्तनपान वच्चालाई आहार दिने प्राकृतिक विधी मात्र नभई यो एउटा विकासको ठुलो जग हो भन्ने कुरालाई आत्मसाथ गर्दै घर परिवार , गाँउ टोल्, समुदाय राष्ट्र हुँदै विश्वभर नै स्तनपानको महत्वलाई फैलाउनु पर्ने देखिन्छ ।





सगुन पौडेल
जनस्वास्थ्यकर्मि,
पोखरा कास्की
सम्पर्क ९८५६०३६९३२  

I am Sagun Paudel, Public Health Professional from Pokhara Nepal.

Start Work With Me

Contact
SAGUN PAUDEL
+977 9856036932
Pokhara, NEPAL