Thursday, August 2, 2018

स्तनपान: जिवनको आधार
स्तनपान: जिवनको आधार 


विश्व स्वास्थ्य संगठन र युनिसेफको संयुक्त पहल तथा वल्ड एलाएन्स फर व्रेस्टफिडिङ एक्सनको सहजिकरणमा सन् १९९२ देखि सुरु गरिएको स्तनपान सप्ताह हरेक वर्षको अगस्ट महिनाको पहिलो साता मनाइन्छ। नेपालमा पनि स्तनपानलाई प्रवर्धन गर्न समुदाय स्तरमा विभिन्न किसिमका कार्यक्रमहरु गरी मनाईदै आएको छ। शिशु जन्मेको १ घण्टा भित्र आमाको दुध शिशुलाई खुवाउने, जन्मे देखि ६ महिनासम्म स्तनपान मात्र गराउने, ६ महिना पुगेपछी स्तनपानको साथै पुरक खाना खुवाउने वारेमा सचेतना प्रदान गर्ने, स्तनपानका फाइदाहरु तथा स्तनपान नगराउदा हुने समस्याहरुलाई स्थानिय जनसमुदायस्तरसम्म पुर्याई सचेत गराउनु यस दिवसको मुख्य उदेश्य हो। यस वर्ष ''स्तनपान: जिवनको आधार'' भन्ने मुल नारा सहित विश्वभर र नेपालमा पनि श्रावण १६ देखि २२ गतेसम्म सरकारी, गैरसरकारी तथा अन्य सरोकारवाला निकायहरुको आयोजनामा विभिन्न कार्यक्रमहरु गरी स्तनपान सप्ताह मनाईदै छ । स्तनपानको महत्वलाई विकासका विभिन्न पक्षहरुसंग जोडेर हेर्दा सन २०३० सम्म विश्वलाई विकासित वनाउने दिगो विकास लक्ष्य पुरा गर्नको लागि स्तनपानको पनि ठुलो भूमिका रहेको छ। जिवनभर स्वास्थ्य रहन, गरिबी निवारण, बालशिशु मृत्युदर घटाउन, मातृशिशु मृत्युदर घटाउन, एच.आई.भी एड्स, मलेरिया तथा अन्य रोगको प्रकोप घटाउन स्तनपानको प्रत्यक्ष भूमिका रहेको छ भने दिगो विकास लक्ष्यका अरु सुचकहरुमा अप्रत्यक्ष रुपमा भूमिका निर्वाह गरेको हुन्छ। 

शिशुको शारिरिक तथा मानसिक विकासको लागि आवश्यक पर्ने सम्पूर्ण तत्वहरु आमाको दुधमा नै पाइने हुँदा स्तनपानलाई पहिलो खोपको रुपमा पनि मानिन्छ । बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु उसको नैसर्गिक अधिकार पनि हो । शिशु जन्मेपश्चात जति सक्दो छिटो अथवा १ घण्टा भित्रैमा आमाको शरिरवाट आउने पहिलो वाक्लो विगौती दुध सहित शिशुलाई स्तनपान गराउनुपर्दछ । कतिपय ठाउँहरु तथा समुदायमा अझै पनि शिशु जन्मने वित्तिकै आमाको दुध खुवाउनुको सट्टामा अन्य केहि खुवाउने तथा पहिला आएको दुध विषालु हुन्छ भन्ने गलत धारणा रहिआएको पनि छ। सुरुमा आउने आमाको दुधमा अझ धेरै किसिमका पौष्टिक आहारहरु पाइने हुँदा विगौती दुध नवशिशुलाई अनिवार्य रुपमा खुवाउन जरुरी हुन्छ। वाक्लो,पहेँलो विगौती दुधमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक तत्वहरुले शिशुलाई हानी गर्न सक्ने जिवाणु तथा किटाणुहरुलाई मार्ने र शिशुलाई रोगवाट वचाउन सक्ने क्षमता हुन्छ। शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु आमाको दुधमा नै पर्याप्त मात्रामा पाइने हुँदा जन्मेको ६ महिनासम्म निरन्तर आमाको दुध मात्र (Exclusive Breastfeeding) खुवाए पुग्दछ। शिशु ६ महिना पुगिसकेपछी शारीरिक तथा बौद्धिक विकासको लागि थप आहार पनि आवश्यक पर्दछ। शिशु ६ महिना पुगिसकेपछि २ वर्षसम्म निरन्तर अरु आहाराहरुको साथमा आमाको दुध पनि खुवाउनु जरुरी हुन्छ। आमाको दुध दिन र रात गरेर कम्तिमा पनि १० पटक सम्म शिशुलाई खुवाउनु पर्दछ । दुवै स्तनवाट पालोपालो गरेर खुवाउदा एक स्तनवाट कम्तिमा पनि १५ मिनेट सम्म खुवाउनु पर्छ। स्तनपान एउटा निशुल्क गर्न सकिने जिवनको महत्वपुर्ण लगानी हो । जनस्वास्थ्यको क्षेत्रमा रहेर स्तनपानमा हामिले १ अमेरिकी डलर लगानी गर्न सक्यौ भने त्यसको प्रतिफल ३५ अमेरिकी डलर पाइने आर्थीक विश्लेशणहरुले देखाएका छन । विश्व स्वास्थ्य संगठन र युनिसेफले प्रकाशन गरेको एक प्रतिवेदन अनुसार विश्वभर हरेक ५ मा ३ जना शिशुहरुले जन्मेको एक घण्टा भित्रै आमाको दुध पिउन छुटिरहेका छन । नेपालको तथ्यांकलाई हेर्ने हो भने नेपाल जनसंख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०११ अनुसार ९८ प्रतिशत २ वर्ष मुनिका वालवालिकाहरुले स्तनपान पाएका थिए भने सन २०१६ मा गरिएको त्यही सर्वेक्षण अनुसार करिव ९९ प्रतिशत वालवालिकाहरुले स्तनपान गरेको देखिन्छ। जन्मेको एक घण्टा भित्रै आमाको दुध पाउने वच्चाहरु हेर्ने हो भने २०११ मा जम्मा ४५ प्रतिशत थियो भने २०१६ मा १० प्रतिशतले वृर्द्दि भई ५५ प्रतिशत पुगेको छ। यदपी हामीले शिशु जन्मेको १ घण्टा भित्रै स्तनपान गराउने कुरालाई वढी महत्व दिएर जनचेतना फैलाउनु पर्ने देखिन्छ किनकी शिशु जन्मेको १ घण्टा भित्रै आमाको दुध खुवाउनु उसको जिवन रक्षाको निम्ति निकै महत्वपुर्ण हुन्छ। त्यस्तै सन २०११ मा ६ महिना सम्मका बच्चाहरुले आमाको दुधमात्र लिएका (Exclusive Breastfeeding) ७० प्रतिशत रहेको थियो जुन २०१६ मा घटेर ६६ प्रतिशत पुगेको छ। सन २०१६ को नेपाल जनसंख्यिक तथा स्वास्थ्य सर्वेक्षणको प्रतिवेदन अनुसार अझै पनि नेपालमा शिशु जन्मेपछी हाम्रो प्रचलन अनुसार खुवाइने घिउ, मह, चिनी जस्ता पदार्थ खुवाउन छोडिएको छैन। करिव २९ प्रतिशत शिशुहरुलाई दुध खुवाउन भन्दा पहिला त्यस्ता खाध पदार्थ खुवाइएको छ जुन शिशुहरुलाई खुवाउनु हुँदैन। यो प्रचलन तराईमा धेरै देखिएको छ। औसतमा हेर्ने हो भने शहरका भन्दा गाँउका वच्चाहरुले लामो समयसम्म स्तनपान गरेको देखिन्छ। शहरिया जिवनशैली, वजारमा पाइने तयारी पौष्टिक आहारका विभिन्न फोर्मुलाहरु, दुध तथा दुधजन्य पदार्थहरुको प्रयोगले पनि आमा र वच्चा दुवैको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको छ। आमाको दुध शिशुलाई खुवाउदा शिशुको वृद्दि र विकास हुनु वाहेक अन्य समस्याहरु जस्तै झाडापखाला, स्वास प्रश्वाश प्रणालीको संक्रमण, मुख तथा कानको संक्रमण आदी रोकथाम गर्न समेत ठुलो प्रभाव पार्दछ । त्यस्तै आमाको दुध बच्चालाई खुवाउँदा आमालाई हुने रक्तश्राव कम हुने, स्तनको क्यान्सर, पाठेघरको क्यान्सर हुने जोखिम कम हुने आदी जस्ता कुराहरु विभिन्न अनुसन्धानहरुले प्रमाणित गरिसकेका छन। त्यसैले हामिले त्यस्ता किसिमका तयारी खानाहरुको प्रयोगहरुलाई निरुत्साहित गर्दै शिशुलाई पुर्णरुपमा आमाकै दुध खुवाउने गर्नुपर्दछ। सामान्यतया हाम्रो नेपालका गाँउहरुमा वालवच्चाहरुले घरमा पाकेको खाना, लिटो, जाउलो खान थालेपछी विस्तारै आमाले आफ्नो दुध खुवाउन छुटाउदै जाने गरेको पाइन्छ त्यस्तै शहरमा पाइने तयारी खानेकुरा तथा फर्मुलाहरु खुवाउदै आमाको दुध छुटाउने चलन पनि वढ्दो क्रममा छ। हाम्रो देश जस्तै कम तथा मध्यम वर्गिय आम्दानी हुने देशहरुमा स्तनपान नगराएका वच्चाहरु भन्दा स्तनपान गराएका वच्चाहरुमा एक वर्ष भित्रै ज्यान गुमाउने जोखिम करिव २१% कम हुन्छ। स्तनपान गराउनाले बच्चामा शारीरिक, मानसिक तथा बौद्धिक विकास भई बच्चालाई कुपोषण हुनबाट जोगाउन साथै बच्चा स्वस्थ भएपछि घरमा पनि आर्थिक भार कम भई गरिबी हुनबाट जोगाउन मद्त गर्दछ। संसारमा रहेको सामाजिक समस्याहरु; गरिवी, भोकमरी तथा सवै किसिमका कुपोषणहरुलाई निराकरण गर्ने भएकाले स्तनपानलाई जिवनको प्रमुख आधारको रुपमा हेरिन्छ । तथ्याङ्क हेर्ने हो भने राम्रो स्तनपान गराउँदा करिब १३% बालशिशु मृत्युदर घटाउन सकिन्छ। विभिन्न अनुसन्धानहरुको नतिजा हेर्ने हो भने आमाको दुध खान पाएमा झाडापखाला, स्वासप्रस्वास र अन्य रोगहरु लाग्न वात र शिशुको ज्यान जाने दरमा २५ प्रतिशतले कमी आएको पाइएको छ। यसैगरि राम्रो पौष्टिक खानेकुराहरु बाट करिब ६% नवशिशु मृत्युदर घटाउन सकिन्छ त्यसैले स्तनपानलाई प्रवर्धन गर्न जरुरी छ। सरकारले देशभरी रहेका हरेक कार्यालयहरुमा स्तनपान कक्षको व्यवस्था गर्ने, समुदायस्तरमा स्तनपान सम्वन्धी प्रवर्धनात्मक कार्यक्रमहरु गर्ने, विधालयस्तरको पाठ्यक्रममा स्तनपान सम्वन्धी विषयवस्तु राख्न्ने, तथा हरेक स्वास्थ्य संस्थावाट दिइने सम्पुर्ण सेवा पश्चात अनिवार्य रुपमा स्तनपान परामर्श तथा जानकारी दिने व्यवस्था गर्ने आदी जस्ता कृयाकलापहरु गरियो भने स्तनपानलाई थप प्रवर्धन गर्न सकिन्छ। विकासका हरेक कुराहरुमा स्तनपानले प्रभाव पारेको हुन्छ। एक स्वास्थ्य वच्चा हुर्कियो भने उस्ले समाज तथा देशका लागि ठुलो योगदान पुर्‍याउन सक्दछ त्यसैले स्तनपान वच्चाको आहार पाउने प्राकृतिक विधी मात्र नभई, एउटि जन्मदिने आमाको मात्र जिम्मेवारी नभई सम्पुर्ण व्यक्तिहरु, समाज तथा राष्ट कै जिम्मेवारी हो। 


सगुन पौडेल

Updated: August 2, 2018

Related: WBW2018

I am Sagun Paudel, Public Health Professional from Pokhara Nepal.

Start Work With Me

Contact
SAGUN PAUDEL
+977 9856036932
Pokhara, NEPAL