July 2017

My Activities

Latest activities
शिशु जन्मेको १ घण्टा भित्र स्तनपान गराउने संख्या वढाउन, जन्मे देखि ६ महिनासम्म स्तनपान गराउने संख्या वढाउन, ६ महिना पुगेपछी स्तनपानको साथै पुरक खाना खुवाउने वारेमा सचेतना फैलाउन स्तनपानको महत्व तथा वच्चालाई स्तनपान नगराउदा हुने समस्याहरुलाई स्थानिय जनसमुदाय स्तरसम्म पुर्याई सचेत गराउने उदेश्य सहित विश्व स्वास्थ्य संगठन र युनिसेफको संयुक्त पहलमा सन् १९९२ देखि हरेक वर्षको अगस्ट महिनाको पहिलो साता विश्व स्तनपान सप्ताह मनाइदै आएको छ ।
स्तनपानको महत्वलाई विकासका विभिन्न्न पक्षहरु संग जोडेर यसको महत्वलाई विश्वव्यापी रुपमा फैलाउने क्रममा यस वर्ष दिगो विकासका लागि स्तनपानको भूमिकालाई दर्शाउन खोजिएको छ । सन २०३० सम्म विश्वलाई विकासित वनाउने दिगो विकास लक्ष्य अनुरुप स्तनपानलाई पनि हरेक लक्ष्य संग जोडेर ति लक्ष्यहरु पुरा गर्नको लागि स्तनपानको पनि ठुलो भूमिका हुन्छ भने कुरालाई स्थान दिएको छ । यस वर्ष स्तनपान : दिगो विकासको प्रमुख आधार भन्ने नारा सहित विश्वभर विविध कार्यक्रमहरु गरी मनाईदै छ ।

यसै क्रममा नेपालमा पनि अग्स्ट महिनाको पहिलो हप्ता अर्थात श्रावण १७ देखी २३ गते सम्म सरकारी, गैर सरकारी तथा अन्य सरोकारवाला निकायहरुको आयोजनामा विभिन्न्न कार्यकर्महरु गरी स्तानपान सप्ताह मनाईदै छ । बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु उसको नैसर्गिक अधिकार पनि हो । शिशु शारिरिक तथा मानसिक विकासको लागि चाहिने सम्पूर्ण तत्वहरु पाइने हुँदा स्तनपानलाई पहिलो खोपको रुपमा पनि लिइन्छ । शिशु जन्मेको जति सक्दो छिनो वा १ घण्टा भित्रैमा स्तनपान गराईसक्नुपर्ने हुन्छ । हाम्रो नेपालको अवस्था हेर्ने हो भने नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०११ को अनुसार शिशु जन्मेको १ घण्टा भित्र स्तनपान गराउने संख्या ४५ प्रतिशत मात्र छ । त्यसै गरी शिशु जन्मेको १ दिन भित्र स्तनपान गराउने संख्या भने ८५ प्रतिशत रहेको छ । हामीले शिशु जन्मेको १ घण्टा भित्रै स्तनपान गराउने कुरालाई वढी महत्व दिएर जनचेतना फैलाउनु पर्ने देखिन्छ । वाक्लो,पहेँलो विगौती दुधमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक तत्वहरुले शिशुलाई हानी गर्न सक्ने जिवाणु तथा किटाणुहरुलाई मार्ने र शिशुलाई रोगवाट वचाउन सक्ने क्षमता हुन्छ ।

अनुसन्धानहरुको तथ्यान्क हेर्ने हो भने आमाको दुध खान पाएमा झाडापखाला, स्वासप्रस्वास र अन्य रोगहरु लाग्न्नवाट वच्न्न र शिशु मर्ने दरमा २५ प्रतिशतले कमी आएको पाइएको छ । स्तनपानको यथार्थ फाईदाहरु औल्याउन नसकेता पनि हाम्रो परम्परा अनुसार स्तनपानलाई प्राकृतिक खाना कै रुपमा खुवाउने प्रचलन हाम्रो नेपाली समुदायमा रहीआएको छ । यदपी आमाको दुध पर्याप्त मात्रामा नआएको भन्दै शहरी क्षेत्रमा भने आमाको दुध भन्दा अन्य कुराहरुको वढ्दो प्रयोग रहेको देखिन्छ । वच्चालाई जती धेरै दुध खुवायो त्यत्तिकै धेरै मात्रामा दुध आँउदछ । दुवै स्तनवाट दिन र रात गरेर कम्तीमा पनि दश पटक आमाको दुध खुवाउनु पर्दछ । एउटा स्तनवाट कम्तीमा पनि १५ मिनेट दुध खुवाउनुपर्छ । जन्मे देखि ६ महिना सम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा प्रयाप्त मात्रामा पानीको मात्रा पनि हुने हुँदा थप पानी छुट्टै खुवाउन जरुरि पर्दैन । शिशु जन्मेपछि ६ महिनाको उमेर सम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु आमाको दुधमा नै पर्याप्त मात्रामा पाइने हुँदा जन्मेको ६ महिनासम्म निरन्तर आमाको दुध मात्र खुवाए पुग्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार ६ महिनासम्म आमाको दुध बाहेक अन्य खानेकुराहरु बच्चालाई खुवाउनु हुँदैन । नेपालमा ६ महिना भन्दा कम उमेरका बच्चाहरुले आमाको दुधमात्र लिएका ७० प्रतिशत रहेको छ । जस अनुसार ३० प्रतिशत बच्चाहरु अझै पनि ६ महिनाको उमेर सम्म दुध बाहेक अरु खानेकुराहरु पनि खाईरहेका छन् । शिशु जन्मेपछी सुरुमा आउने आमाको दुधमा धेरै किसिमका पौष्टिक आहारहरु पाइने हुँदा विगौती दुध नवशिशुलाई अनिवार्य रुपमा खुवाउन जरुरी छ । शिशु जन्मेको एक घण्टा भित्रै शिशुलाई विगौती दुध खुवाउनु पर्छ। हाम्रै समाजमा कतिपय ठाँउहरुमा शिशु जन्मने वित्तिकै आमाको दुध खुवाउनुको सट्टामा मह, चिनि, घिउ आदी जस्ता खानेकुराहरु खुवाउने चलन रहेको छ । यस्ता किसिमका खानेकुराहरु खुवाउनु शिशुको स्वास्थ्यको लागि राम्रो होइन । शिशुको शारीरिक तथा बौद्धिक विकासको लागि ६ महिनापछी भने थप ठोस आहार पनि आवश्यक पर्ने हुँदा खुवाउनुपर्ने हुन्छ। शिशु ६ महिना पुगिसकेपछि २ वर्षसम्म निरन्तर अरु आहाराहरुको साथमा आमाको दुध पनि खुवाउनु जरुरी छ । ६–२३ महिनाको बच्चाहरु मध्ये करिब १ चौथाई बच्चाहरु मात्र आमाको दुध खान पाईराखेका छन् । यसले गर्दा बच्चाको शारीरिक तथा मानसिक विकास बौद्धिक विकास भई बच्चालाई कुपोषण तथा अन्य समस्याहरु हुनबाट जोगाउन सकिन्छ । तथ्याङ्क हेर्ने हो भने राम्रो स्तनपान गराउँदा करिब १३% बालशिशु मृत्युदर घटाउन सकिन्छ । यसै गरि राम्रो पौष्टिक खानेकुराहरु बाट करिब ६% नवशिशु मृत्युदर घटाउन सकिन्छ । नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०११ को प्रतिवेदन अनुसार करिव ९९ प्रतिशत महिलाहरुले आफ्ना वच्चाहरुलाई स्तनपान गराईरहेको देखिन्छ। त्यसैगरी आमाको दुध बच्चामा खुवाउँदा आमालाई हुने रक्तश्राव कम हुने, स्तनको क्यान्सर कम हुने, पाठेघरको क्यान्सर कम हुने देखिन्छ, साथै महिला हरुमा जन्मान्तर कायम राख्न्न स्तनपानले सहयोग पुर्याउदछ । सन २०३० सम्ममा विश्वलाई विकसित वनाउनको लागि विभिन्न रास्ट्रले प्रतिवद्द्ता जनाए अनुरुप दिगो विकास लक्ष्यमा विभिन्न १७ वटा लक्ष्यहरु रहेका छन । ति लक्ष्यहरु पुरा गर्नको लागि प्रतक्ष अप्रतक्ष रुपमा स्तनपानको भूमिका रहेको छ ।गरिबी, भोकमारी अन्त्य गर्ने, सबैमा स्वास्थ्य जीवनको सुनिश्चिता गर्ने, सबैका लागि समावेशी र गुणस्तरीय शिक्षा गर्ने, लैंगिक समानाता हासिल गर्ने, खानेपानी र सरसफाईको सबैमा पहुँच पुर्याउने, बलियो पूर्वाधार, दिगो औद्योगिकीकरण, मुलुकभित्र र अन्य देशसँगको अससमान्ता हटाउने, मानवबस्तीलाई सुरक्षित र दिगो बनाउने, जलवायु परिवर्तन र यसका प्रभावबारे लड्न कार्ययोजना तय गर्ने र दिगो पर्यावरणीय प्रणाली आदी जस्ता लक्ष्यहरुलाई रहेका छन । यि सम्पुर्ण लक्ष्यहरु प्राप्ती गर्नको लागी सुश्म स्तरवाट स्तनपानले ठुलो भूमिका निर्वाह गर्दछ। त्यसैले स्तनपान वच्चालाई आहार दिने प्राकृतिक विधी मात्र नभई यो एउटा विकासको ठुलो जग हो भन्ने कुरालाई आत्मसाथ गर्दै घर परिवार , गाँउ टोल्, समुदाय राष्ट्र हुँदै विश्वभर नै स्तनपानको महत्वलाई फैलाउनु पर्ने देखिन्छ ।





सगुन पौडेल
जनस्वास्थ्यकर्मि,
पोखरा कास्की
सम्पर्क ९८५६०३६९३२  
‘‘उदाशिनाताको रोगः खुलेर कुरा गरौ’’ -विश्व स्वास्थ्य दिवस - २०१७ 
सन १९५० देखि मनाउन सुरु गरिएको विश्व स्वास्थ्य दिवस हरेक वर्षको अप्रिल ७ तारिखको दिन विश्वभर विविध कार्यक्रमहरु गरी मनाइन्छ । विश्व स्वास्थ्य संगठन आयोजनमा मनाउन सुरु गरिएको यो दिवस हरेक वर्ष जनस्वास्थ्य समस्याको रुप रहेको कुनै रोग तथा समस्याको विषय केद्रीत गरेर यो मनाईन्छ । ‘‘उदाशिनाताको रोगः खुलेर कुरा गरौ’’ भन्ने मूल नारा सहित विश्वभर विविध कार्यक्रम गरी आज विश्व स्वास्थ्य दिवस मनाईदै छ । 


यसै अवसरमा कास्की जिल्लामा रहेका विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा जिल्ला जनस्वास्थ्यमा कार्यरत कर्माचारिहरुको उपस्थितिमा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको आयोजनामा एक कार्यक्रम विच दिवस मनाईएको हेल्थ फर लाईफ कास्कीका कार्यक्रम अधिकृत सगुन पौडेलले वताए । कार्यक्रममा प्रमुख जनस्वास्थ्य प्रशासक दिनेश कुमार चापागाईले डिप्रेसनको वर्तमान अवस्था, कारणहरु, रोकथाम, व्यवस्थापन तथा स्वास्थ्यकर्मीहरुले निर्वाह गर्नुपर्ने भूमिका वारेमा प्रस्तुत गरेका थिए । हाल विश्वमा वढ्दै गएको डिप्रेसनलाई सवै मिलेर रोक्नु पर्ने कुरामा जोड दिदै स्वास्थ्यकर्मीहरुले विशेष किसिमको भूमिका निर्वाह गर्नुपर्ने वताए । उक्त कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका जनस्वास्थ्य अधिकृत नानिवाबु ढकालले संचालन गरेका थिए।
वातावरणिय तथा पेशागत स्वास्थ्यका लागि अन्तर्कृया कार्यक्रम सम्पन्न
बाग्लुङ–
२०७४ असार १० गते
नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष रहेको ढोरपाटन नगरपालिका वाग्लुङ वार्ड न. ९, स्थित सामुदायिक स्वास्थ्य इकाईमा जिल्ला जनस्वास्थ्य कार्यालय वाग्लुङको आयोजनामा वातावरणिय तथा पेशागत स्वास्थ्यका लागि अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । स्थानिय संस्था व्यवस्थापन तथा संचालन समितीका अध्यक्ष भद्रमणी सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य जिल्ला जनस्वास्थ्य कार्यालय वाग्लुङका कार्यालय प्रमुख व. जनस्वास्थ्य प्रशासक दिपक तिवारीले राखेका थिए । 
कार्यक्रममा वर्षात मौसम, न्युन तापक्रम, हावा, हिउँ आदी जस्ता कारणले हुन सक्ने स्वास्थ्य समस्या तथा रोकथाम वारे छलफल गरिएको थियो । कार्यक्रमको सहजिकरण फोकल पर्सन चुडामणी कडेल तथा संचालन हेल्थ असिस्टेण्ट दिपक थापाले गरेका थिए ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्य संस्था व्यवस्थापन समितीका सदस्यहरु , आमा समुहका प्रतीनिधी तथा स्थानिय वासिन्दाहरुको उपस्थिती थियो ।



पोखरा २७ जेठ । हेपाटाइटिस बी सम्वन्धी सचेतना तथा निशुल्क रक्त परीक्षण कार्यक्रम गरी मेडिकल ल्यावरेटोरी एसोशिएसन नेपाल (मेलान)ले आफ्नो १२ औँ स्थापना दिवस मनाएको छ ।


शुक्रबार पोखरा लेखनाथ महानगरपालिका १३ मा भएको कार्यक्रममा ४१७ जनाको निशुल्क HBsAg परीक्षण गरिएको थियो । सो क्रममा दुई जनामा संक्रमण देखिएको थियो ।
मेलान पश्चिमाञ्चल क्षेत्रीय कमिटि तथा कास्की जिल्ला कमिटीको संयुक्त आयोजनामा भएको कार्यक्रममा जनस्वास्थ्यकर्मी सगुन पौडेलले सहजीकरण गरेका थिए ।
मेलान पश्चिमान्चलका क्षेत्रीय कमिटि अध्यक्ष वासुदेव कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नवनिर्वाचित वडाअध्यक्ष दर्शन लामा रहेका थिए।
उक्त कार्यक्रम मेलान पश्चिमान्चल क्षेत्रीय कमिटिका सचिव रविन्द्र वास्ताकोटीले संचालन गरेका थिए। कार्यक्रमको सहजीकरण जनस्वास्थ्यकर्मी सगुन पौडेलले गरेका थिए ।
हरेक वर्ष जुलाई ११ तारिखका दिन संसारभरि विविध कार्यक्रम गरी विश्व जनसंख्या दिवस मनाइन्छ । विशेष गरी विकास र समृद्धिसँग जनसंख्याको सम्बन्ध, जनसंख्यासम्बन्धी विभिन्न समस्या, चुनौती तथा जनसंख्यासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई उठान गरी त्यसको महत्वलाई जनस्तरसम्म जनचेतना फैलाउनु नै यो दिवसको मुख्य उद्देश्य हो ।
Samadhan National Daly (2017/07/11)

विश्व जनसंख्या दिवस
विश्वको जनसंख्या ५ अर्ब पुगेको मिति ११ जुलाई १९८७ लाई आधार मानेर संयुक्त राष्ट्र संघीय विकास कोषको आयोजनामा सन् १९८९ देखि ११ जुलाईलाई विश्व जनसंख्या दिवसको रूपमा मनाउन सुरु गरिएको हो । हाल विश्वको जनसंख्या हेर्ने हो भने संयुक्त रास्ट्र संघको सन् २०१७ को अनुमान अनुसार करिव ७.५ अर्ब पुगिसकेको छ । २०७२ मा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ८० लाख ५८ हजार २ सय २ अर्थात झण्डै ३ करोड पुगेको छ ।
वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत छ । विश्व जनसंख्या दिवसको अवसरमा नेपालमा पनि जनसंख्यासँग सरोकार राख्ने विषयलाई महत्व दिँदै हरेक वर्ष जनसंख्या दिवस मनाउँदै आइएको छ । यस वर्ष ‘व्यवस्थित परिवारः समृद्ध राष्ट्रको आधार’ भन्ने मूल नाराका साथमा यो दिवस आज मनाइँदै छ ।
यो वर्ष विश्व जनसंख्या दिवसमा परिवार नियोजनलाई प्राथमिकताको विषय बनाइएको छ । राष्ट्रको विकास प्रगति तथा समृद्धि हासिल गर्नका लागि परिवार नियोजनलाई व्यवस्थित गर्नुपर्छ भन्ने कुरालाई यस वर्ष जोडिएको छ । पारिवारिक जीवनलाई स्वास्थ्य र व्यवस्थित राख्नका लागि के कस्ता परिवार नियोजनका साधन प्रयोग गर्ने, कति उमेरमा बच्चा जन्माउने, जन्मान्तर कति राख्ने, शिक्षादीक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने जस्ता विषयको बारेमा योजना बनाउन सहयोग गर्ने, परिवार नियोजनका सेवाहरुलाई गुणस्तरीय तथा प्रभावकारी बनाइ सेवाको पहुँच र उपभोगलाई बढाउन सकेमा विश्व समुदायलाई विकास र समृद्धितर्फ लान सकिन्छ भन्ने अवधारणालाई आत्मसात गर्दै यस दिवसले परिवार नियोजनलाई व्यवस्थित बनाउनुपर्ने कुरालाई जोड दिन खोजेको छ ।
सामान्यतया परिवार नियोजन भन्नाले बच्चा नजन्माउन प्रयोग गरिने साधनमात्र हुन भन्ने कुरालाई हाम्रो समाजले चित्रण गर्दै आएको छ । वास्तवमा परिवार नियोजन यतिमात्र नभई पारिवारिक जीवनलाई स्वास्थ्य र व्यवस्थित राख्नका लागि दम्पतीबाट गरिने पारिवारिक योजना, सन्तान कहिले कति जन्माउने, जन्मान्तर कति राख्ने, उनीहरुको शिक्षा स्वास्थ्यको बारेमा समेत सोच विचार गर्ने, यौन तथा प्रजनन स्वास्थ्यको योजनालाई परिवार नियोजनले समेट्ने गर्छ ।
सही तरिकाले परिवार नियोजनका सेवा उपयोग गर्न पाएमा प्रत्यक्ष रुपमा आमा र बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव परिवार नियोजनले पार्छ । समग्र स्वास्थ्यको अवस्थालाई परिवर्तन गर्न गुणस्तरीय परिवार नियोजन सेवा लक्षित वर्ग समूहसम्म पु¥याउनुपर्ने हुन्छ ।
हाम्रो जस्तो विकासोन्मुख देशमा विभिन्न किसिमका समस्याले शरीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा प्रभाव ठूलो प्रभाव पारेका छन् । उमेर नपुग्दै गर्भवती हुनाले शैक्षिक अवसर, स्वास्थ्य र दीर्घकालीन रोजगारका अवसरमा गम्भीर प्रभाव पार्छ । त्यस्तै कम उमेरमा गर्भवती हुनु स्वास्थ्य हिसाबमा राम्रो होइन । गर्भधारण गर्न बच्चा जन्माउन, शरीर पूर्णरुपमा तयार भइ नसकेको हुँदा गर्भावस्था, बच्चा पाउने अवस्था र सुत्केरी भएको ६ हप्तासम्म विभिन्न जटिलताले आमाको मृत्यु एवं जटिलताबाट स्वास्थ्य अवस्था कमजोर हुने, कम तौलको बच्चा जन्मने प्रबल सम्भावना, गर्भपतन हुने सम्भावना हुन्छ ।
बच्चा शारीरिक बिकलांग हुने सम्भावना हुने, पाठेघरको समस्या, आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा रहन्छ । अपरिपक्व उमेरमै तथा जोखिम मोलेरै गर्भवती हुने कारणले पनि नेपालमा मातृमृत्यु, नवशिशु मृत्युमा प्रभाव पारेको छ र किशोरीहरु छिटो बिहे हुने कम उमेरमा आमा बन्ने, त्यस्तै लैंगिकतामा आधारित हिंसा, लिंगमा आधारित गर्भपतन, असुरिक्षित यौन सम्पर्क, यौन रोगहरुको समस्या, बलत्कार आदि कुराहरुले गर्दा सामाजिक र आर्थिक रुपमा उत्पादनशील जिन्दगीलाई सोचे जस्तो समृद्ध बनाउन सकिएको छैन ।
विशेष गरी महिलाको जीवनस्तरमा ठूलो प्रभाव पारेको छ । गुणस्तरीय परिवारका लागि नियोजन सेवाको उपभोग बढाउन सकियो भने माथि उल्लिखित समस्यालाई समाधान गर्दै व्यक्ति, समाज हुँदै देशलाई नै समृद्धितर्फ अगाडि बढाउन सकिन्छ । नेपालको अवस्था हेर्ने हो भने ग्रामिण क्षेत्रमा यौन तथा प्रजनन स्वास्थ्य सेवा, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सबै किशोरीको पहुँचमा पुग्न नसकेको र किशोर अवस्थाको प्रजनन्दर धेरै देखिएको छ । युनएफपिएको सन् २०१४ को एक प्रतिवेदन अनुसार विश्वभर करिब २.२५ मिलियन महिला चाहेर पनि आफ्नो गर्भ रोक्नका लागि गुणस्तरीय परिवार नियोजन सेवा लिन पाएका छैनन् ।
त्यस्तै नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०१५ को तथ्यांक अनुसार परिवार नियोजन साधनको अपुग माग अझै २४ प्रतिशत रहेको छ । २५ देखि ४९ उमेर समूहका महिलाको विवाह सरदर १७.५ वर्षकै उमेरमा भएको देखिन्छ । त्यस्तै करिब १७.७ प्रतिशत किशोरी १५ देखि १९ वर्षको उमेरमा गर्भवती हुने या आमा भइसक्ने गरेका छन् । एनएमआइसिएस २०१४ को तथ्यांक हेर्ने हो भने नेपालमा अझै पनि १६ प्रतिशत २० देखि २४ वर्ष उमेर समूहका महिलाले उनीहरुको १८ वर्षको उमेरमा नै कम्तीमा पनि एक पटक बच्चा जन्माएको देखिन्छ ।
किशोर अवस्थाको प्रजननदर हेर्ने हो भने १५ देखि १९ वर्ष उमेर समूहका महिलाहरुमा निकै उच्च (प्रति हजारमा ७१) देखिन्छ । त्यस्तै गरी परिवार नियोजनका साधनको प्रयोग पनि ज्यादै न्यून देखिन्छ । नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०१५ ले प्रकाशन गरेको वार्षिक प्रतिवेदन अनुसार १५ देखि ४९ उमेर समूहका महिलामा ४३ प्रतिशतमात्र रहेको छ । यसरी हेर्दा कम उमेरमै गर्भवती हुने कारणले शरीरिक, मानसिक तथा सामाजिक रुपमा किशोरीको विकासमा ठूलो बाधा पु¥याएको तथा स्वास्थ्य क्षेत्रका प्रमुख सूचांकमा समेत ठूलो देखिन्छ ।
यसलाई हटाउन लागि पर्ने हो भने राष्ट्रका धेरै सूचकमा प्रगति हासिल गरी समुन्नत गर्न सकिन्छ । संयुक्त राष्ट्र संघले तय गरेर हाम्रो देश नेपालले समेत अवलम्बन गरेको सन् २०३० सम्मको विश्वको विकाससम्बन्धी लक्ष्य दिगो विकास लक्ष्य अनुरुप सन् २०३० सम्ममा कुल प्रजनन दरलाई २ प्रतिशतमा झार्ने, परिवार नियोजनका आधुनिक साधनको प्रयोगदर ७५ प्रतिशतमा पु¥याउने, वयस्कमा हुने प्रजनन दरलाई ३० प्रतिहजार १५ देखि १९ वर्षका महिलामा पु¥याइने लक्ष्य छ ।
परिवार नियोजनसम्बन्धी यिनै सूचांकमा प्रगति हासिल गर्न सक्यौं भने देशको समग्र विकास तथा नागरिकहरुको जीवन समृद्धितर्फ अगाडि बढाउन सकिन्छ । परिवार नियोजनको परामर्श, सेवा उपयोगलाई बढाउनका लागि प्रजनन उमेर समूहमा परिवार नियोजन सेवाको बारेमा माग बढाउने सचेतनामूलक गतिविधि गर्ने, सबै स्वास्थ्य संस्थाबाट सबै खालका परिवार नियोजनका साधन उपलब्ध गराउने, छोटो समय काम गर्ने भन्दा लामो समय अवधिसम्म काम गर्ने साधनको व्यवस्थामा जोड दिने, सुत्केरीपश्चात तथा गर्भपतनपश्चात परिवार नियोजन परामर्शमा ध्यान दिने तथा परिवार नियोजनका साधनबारे मिथ्या तथा गलत धारणालाई अन्त्य गरी आधुनिक परिवार नियोजनका साधनको प्रयोग बढाउन÷बढाउनतर्फ लागिप¥यौ भने हाम्रो देशको समग्र स्वास्थ्य स्थितीमा उल्लेखनीय सुधार गर्दै नेपाली नागरिक, देशलाई विकास र समृद्धिको बाटोमा लम्काउन सकिन्छ ।
के यस्ता स्वास्थ्यका नाराहरु वनाउलान त राजनितिक दलले स्थानिय चुनावमा ????

स्थानिय चुनाव र स्वास्थ्य  (चुनावी नाराहरु )

स्वास्थ्य नै विकासको प्रमुख पुर्वाधार
निशुल्क स्वास्थ्यसेवा नितिको आधार

स्वास्थ्य खाना, रोकथाम सावधानी
स्थानिय सरकारको स्वास्थ्यमा लगानी

नसर्ने रोगलाई रोक्न सक्ने स्वयम आंफ्नै वानी
मल्टिसेक्टर एप्रोचमा पव्लिक प्राईभेट लगानी

प्रवर्धनात्मक सेवामा उल्लेखनिय जोड
राज्यको दायित्व, स्वास्थ्य विमा निछोड

गाँउ नगर: हरेक नागरिक, हरेक परिवार
स्वास्थ्य विमा स्थानिय सरकारको उपहार

हरेक परिवारलाई प्राथमिक उपचारको किट
३० मिनेटको दुरीमा स्वास्थसेवा केन्द्र फिट

वढ्दो दुर्घट्ना, मधुमेह, रक्तचाप किड्निको रोग
नगरवासिको पहुंचमा प्रोमोशन सेन्टरको उपभोग

साधन स्रोतको पर्याप्त उपलव्धता
स्थानिय संस्थामै सेवाको गुणस्तरियता

स्वास्थ संस्था व्यवस्थापन जनताकै जिम्मेवारी
सेवा दिने स्वास्थ्यकर्मी, जनताकै निगरानी

स्थानिय तह जनताको सहकार्य
दरवन्दी अनुसार डाक्टर अनिवार्य

सवै निकाय : नगर तथा गाँउपालिका
टोलटोलमा सर्टिफाईड स्वास्थ्य परिचालिका

स्वास्थ्य, समृद्द नगर टोल वासी
गाँउगाँउमा सामुदायिक फार्मेसी

अन्लाईन, स्याट्लाईट: वडासम्म विशेषज्ञ सेवा
प्रविधिको उच्च प्रयोग जनतालाई टेवा

सगुन पौडेल, जनस्वास्थ्यकर्मी

पोखरा

Contact Me

Contact With Me

SAGUN PAUDEL

  • Mustangchowk, Pokhara-17, Kaski
  • +9779856036932
  • mail4sagun@gmail.com
  • https://www.sagunpaudel.com.np
  • www.publichealthupdate.com